नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मर्म अनुरूप मधेश प्रदेशका नागरिकहरूको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्थापना भएको हो। मधेश प्रदेश सरकार (कार्यविभाजन) नियमावली बमोजिम यस मन्त्रालयले प्रदेशभरको स्वास्थ्य नीति निर्माण, कार्यान्वयन, नियमन र जनसङ्ख्या व्यवस्थापनको जिम्मेवारी वहन गर्दै आएको छ। हाम्रो प्रतिबद्धता "अत्याधुनिक, सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति" भन्ने मूल मन्त्रका साथ यो मन्त्रालय प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, प्रसाामक र पुनर्स्थापनात्मक स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुऱ्याउन प्रतिबद्ध छ। प्रमुख कार्यक्षेत्र तथा जिम्मेवारीहरू राजपत्रमा उल्लेखित ३१ बुँदे कार्यक्षेत्रका आधारमा मन्त्रालयका मुख्य कार्यहरूलाई निम्न अनुसार वर्गीकरण गरिएको छ: १. नीति, कानुन तथा योजना तर्जुमा: स्वास्थ्य, पोषण, जनसङ्ख्या, बसाइँसराई र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड र योजनाहरूको तर्जुमा तथा नियमन। स्वास्थ्य सरसफाइ र स्वच्छता अभियान सम्बन्धी प्रादेशिक नीति निर्माण। २. स्वास्थ्य सेवा तथा गुणस्तर नियन्त्रण: प्रदेशस्तरमा स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन। औषधिजन्य तथा स्वास्थ्य प्रविधि सामग्रीको उत्पादन, सञ्चय र मूल्य निर्धारण। निजी क्षेत्रका अस्पताल, नर्सिङ होम र प्रयोगशालाहरूको दर्ता, अनुमति र नवीकरण। ३. महामारी तथा आपतकालीन व्यवस्थापन: सरुवा तथा नसर्ने रोगको नियन्त्रण र रोकथाम। स्वास्थ्य सम्बन्धी विपद् तथा महामारीको पूर्व तयारी र आपतकालीन स्वास्थ्य सेवा प्रवाह। ४. पूर्वाधार तथा औषधि व्यवस्थापन: स्वास्थ्य पूर्वाधार विकास, एम्बुलेन्स, शववाहन र स्वास्थ्य उपकरणहरूको व्यवस्थापन। खोपको आपूर्ति, संवेदनशील औषधि खरिद र 'फार्माकोभिजिलेन्स' (औषधि निगरानी)। ५. जनशक्ति तथा समन्वय: स्वास्थ्य जनशक्तिको विकास, कार्ययोजना निर्माण र परिचालन। सङ्घ, प्रदेश र स्थानीय तहका साथै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वय र सहकार्य। ६. परम्परागत तथा वैकल्पिक चिकित्सा: आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक र प्राकृतिक चिकित्सा लगायतका परम्परागत सेवाको प्रवर्द्धन र नियमन। मन्त्रालयको संरचना मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई व्यवस्थित बनाउन निम्न महाशाखाहरू मार्फत कार्य गर्दछ: प्रशासन तथा योजना महाशाखा: कर्मचारी प्रशासन, कानुन र आर्थिक व्यवस्थापन। अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा: विशेषज्ञ चिकित्सा सेवा र औषधि व्यवस्थापन। जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा: जनस्वास्थ्य कार्यक्रम र तथ्याङ्क व्यवस्थापन। सम्पर्क जानकारी कार्यालय: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेश स्थान: जनकपुरधाम, धनुषा।